हर्मोज सामुद्रिक जलमार्ग नियन्त्रणमा लिने ट्रम्पको संकेत
२६ फागुन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अमेरिकी युद्ध लगभग समाप्त हुन लागेको सोमबार सीबीएस न्युजसँगको टेलिफोन अन्तर्वार्तामा बताएका छन् ।फ्लोरिडा राज्यको डोरलस्थित आफ्नो गल्फ क्लबबाट उनले भने, “मलाई लाग्छ, युद्ध धेरै हदसम्म पूर्ण भइसकेको छ । इरानसँग अब कुनै नौसेना छैन, कुनै सञ्चार संयन्त्र छैन । उनीहरूसँग वायुसेना पनि छैन । उनीहरूका क्षेप्यास्त्रहरू छरपस्ट अवस्थामा पुगेका छन् । उनीहरूका ड्रोनहरू र तिनका उत्पादन केन्द्र जताततै ध्वस्त पारिएका छन् ।”
अमेरिकी सेनाले ‘अपरेसन’को पहिलो हप्तामा तीन हजारभन्दा बढी इरानी लक्ष्यमा प्रहार गरिएको जनाएको छ ।“यदि, तपाईंले हेर्नुभयो भने उनीहरूसँग अब केही बाँकी छैन । सैन्य दृष्टिकोणले त्यहाँ केही पनि बाँकी छैन,” ट्रम्पले भने । आइतबार इरानले आयतोल्लाह मोजतबा खामेनीईले आफ्ना पिताको स्थानमा देशको सर्वोच्च नेताका रूपमा जिम्मेवारी सम्हाल्ने घोषणा गरेको थियो ।
“उनी (मोजतबा खामेनीई)प्रति मेरो कुनै सन्देश छैन । केही पनि छैन,” ट्रम्पले भने । उनले इरानको नेतृत्व गर्न आफ्नो दिमागमा अर्कै कोही व्यक्ति रहेको समेत बताए । विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने हर्मोज जलमार्गबाट हुने व्यापारिक ढुवानी हाल ठप्प भएको छ ।ट्रम्पले उक्त जलमार्गका बारेमा अमेरिकाले धेरै गर्न सक्ने बताए । इरानले उक्त जलमार्गमा अवरोध पुर्याएमा परिणाम धेरै गम्भीर हुने उनले चेतावनी दिए ।
“उनीहरूले प्रहार गर्नुपर्नेजति सबैथोक प्रहार गरिसकेका छन्, अब उनीहरूले कुनै पनि चलाखीपूर्ण काम नगरेकै राम्रो हुन्छ, नत्र त्यो देशको अन्त्य हुनेछ,” उनले भने, “यदि, उनीहरूले कुनै खराब काम गरे भने त्यो इरानको अन्त्य हुनेछ र तपाईंले फेरि कहिल्यै त्यो नाम सुन्नुहुने छैन ।”
जलमार्ग हाल खुला र जहाजहरू त्यहाँ प्रवेश गरिरहेको जिकिर गर्दै उनले आफूले अझै पनि यो नियन्त्रणमा लिनेबारेमा सोचिरहेको बताए ।उक्त अन्तर्वार्तालगत्तै कच्चा तेलको अमेरिकी बेन्चमार्क १३.७ प्रतिशत अर्थात् प्रतिब्यारेल करिब १३ डलरले घट्को थियो । यद्यपि, केही घण्टापछि यसमा केही सुधार आएको थियो ।ट्रम्पले सुरुमा युद्ध सम्पन्न हुन करिब एक महिना लाग्ने अनुमान गरिएको बताए । “हामी तय गरिएको समयभन्दा धेरै अगाडि छौँ,” उनले भने ।
उनले युद्ध धेरै हदसम्म समाप्त भइसक्यो भनेकै दिउँसो रक्षा मन्त्रालयले सामाजिक सञ्जाल मा पोस्ट गर्दै लेखेको छ, “हामीले भर्खरै लड्न सुरु गरेका छौँ र कुनै दयामाया देखाइने छैन ।”युद्धका क्रममा हालसम्म सात अमेरिकीको मृत्यु छ । युद्ध चाँडै टुंगिने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “यो कसरी टुंगिन्छ भन्ने मेरो दिमागमा मात्र छ, अरू कसैकोमा छैन ।”