सेयर बजारमा ‘करेक्सन’
२६ फागुन काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबारमा उल्लेख्य बढेको सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । मंगलबार (फागुन २६) बजार ३२ अंकले घट्यो । योसँगै बजार मापक २८४३.३५ विन्दुमा कायम छ । सोमबार (फागुन २५) बजार १६२ अंकले बढेको थियो ।
बजारसँगै ७८ कम्पनीको सेयर मूल्य घटेको छ । १७८ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बजार बढ्दा रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो ।
यस दिन कारोबार उल्लेख्य बढ्यो । २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँबराबरको सेयर किनबेच भएको हो । पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर दुई लाख पाँच हजार ६११ पटकमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
समूहगत सूचकतर्फ लाइफ इन्स्योरेन्स, म्युचअल फन्ड तथा नन लाइफ इन्स्योरेन्सको मूल्य बढ्यो । बाँकी समूहको मूल्य घटेको नेप्सेले जनाएको छ ।