मुद्रास्फीति ३.२५ प्रतिशत
२८ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार, गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति भने १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार, गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१९, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.९८, शिक्षाको ७.४६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेयपदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०८ प्रतिशतले घटेको छ । त्यस्तै गत माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.५१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, मधेस प्रदेशको ५.१४, वाग्मती प्रदेशको ३.१०, गण्डकी प्रदेशको २.४२, लुम्बिनी प्रदेशको ३.२९, कर्णाली प्रदेशको १.६२ र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ ।