‘ग्लोबल फोरम’मा नेपाल सहभागी


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०८२
1.6K
SHARES

५ चैत काठमाडौं । अन्तर्राष्ट्रिय कर छलीविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै नेपाल पनि ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’ (ग्लोबल फोरम)को १७३औँ सदस्य बनेको छ । यो सँगै नेपाल यो सञ्जालमा जोडिने २४औँ एसियाली राष्ट्र बनेको छ ।

ग्लोबल फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै नेपालको यो निर्णयले कर छली र छली गर्ने प्रवृत्तिविरुद्ध लड्न विश्वव्यापी रूपमा बढ्दै गएको दृढ संकल्पलाई प्रतिबिम्बित गरेको बताए । उनका अनुसार नेपालको सदस्यताले कर मामिलामा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने सामूहिक प्रयासलाई थप बलियो बनाउनेछ ।

मुख्य प्रतिबद्धता र अन्तर्राष्ट्रिय मापदण्ड
नेपालले अन्य सदस्य राष्ट्रसरह समान हैसियतमा सहभागी हुँदै कर छलीविरुद्ध लड्न अन्तर्राष्ट्रिय रूपमा सहमति भएका मापदण्डहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

यस अन्तर्गत नेपालले मापदण्डहरू पालना गर्नुपर्नेमा आवश्यकताअनुसार कर सम्बन्धी जानकारी उपलब्ध गराउने र वित्तीय खाता र क्रिप्टो–सम्पत्ति कारोबार  सम्बन्धी जानकारीहरू स्वचालित रूपमा आदानप्रदान गर्नेछ । यी मापदण्डहरूको प्रभावकारी कार्यान्वयनका लागि ग्लोबल फोरमले कडा अनुगमन र ‘पियर रिभ्यु’ (सहकर्मी समीक्षा) प्रक्रिया अपनाउने गर्छ ।

यसैक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यस सदस्यतालाई नेपालको कर प्रशासन सुदृढीकरण, सुशासन प्रवर्द्धन र आन्तरिक स्रोत परिचालनका लागि एउटा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।

“हामी ग्लोबल फोरमको विज्ञता र क्षमता अभिवृद्धि पहलहरूबाट लाभ उठाउन उत्सुक छौँ,” उनले भने, “जसले हामीलाई पारदर्शिता सुधार, कर छली नियन्त्रण र विश्वव्यापी कर समुदायसँग प्रभावकारी रूपमा जोडिन मद्दत गर्नेछ ।”

नयाँ सदस्यको रूपमा नेपालले बहुवर्षीय क्षमता अभिवृद्धि कार्यक्रमबाट लाभ उठाउनेछ । यो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू लागु गर्न र सीमापार सूचना आदानप्रदानका माध्यमहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न प्राविधिक सहयोग पुर्‍याउनेछ ।ग्लोबल फोरममान जी–२० राष्ट्रहरू, ओईसीडी सदस्यहरू र विश्वका प्रमुख वित्तीय केन्द्रहरूलगायत ठूलो संख्यामा विकासोन्मुख देशहरू सहभागी छन् ।