नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल स्थगित
८ चैत काठमाडौं । नेपाल र हङकङबीच यही चैत १२ गतेका निम्ति तय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगन गरिएको छ । आइतबार (चैत ८) अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण फुटबल स्थगन गरिएको जनाएको छ । एन्फाले यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने जनाएको थियो । एन्फाले मैत्रीपूर्ण फुटबलका निम्ति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलमैदान उपलब्ध नगराएको भन्दै खेल स्थगन गरिएको जनाएको छ ।
पछिल्लो समय ‘अर्ली इलेक्स’का कारण राखेप र एन्फाबीच टकराब बढ्दै गएको छ । राखेपले अर्ली इलेक्स विधिसम्मत र कानुनानुसार नभएको जनाउँदै नगर्न एन्फालाई पटक–पटक पत्राचार गरेको थियो । तर, त्यसको बेवास्ता गर्दै एन्फा अर्ली इलेक्सनको तयारीमा अघि बढेको छ ।
