सहुलियत कटौती नगर्न नेपालको जोड


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२
1.1K
SHARES

१९ चैत काठमाडौं । विश्व व्यापार संगठन (डब्ल्यूटीओे)को १४औँ मन्त्रीस्तरीय सम्मेलनमा नेपालले अतिकम विकसित र भूपरिवेष्ठित मुलुकका एजेन्डामा जोड दिएको छ । क्यामरुनको याउन्डेमा १२ देखि १५ चैतसम्म चलेको सम्मेलनमा नेपालले आफ्ना प्रमुख व्यापारिक चासो र  एजेन्डालाई सशक्त रूपमा उठाएको जनाएको छ ।नेपाली प्रतिनिधिमण्डलले विशेषगरी अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नतिपश्चात् पनि पाइरहेको सुविधा र सहुलियतलाई निरन्तरता दिन आग्रह गरेको छ । जोड दिएको छ । साथै, नेपालले भूपरिवेष्ठित विकासशील मुलुकका लागि भरपर्दो पारवहन र डिजिटल कनेक्टिभिटी (विद्युतीय पहुँच)को सुनिश्चितता गर्न जोड दिएको छ ।

सम्मेलनले एलडीसी मुलुकहरूका लागि केही महत्तवपूर्ण निर्णयहरू गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचनामार्फत जनाएको छ । “स्यानिटरी एन्ड फाइटो स्यानिटरी र प्राविधिक व्यापार अवरोधसम्बन्धी सम्झौताहरूअन्तर्गत एलडीसीहरूलाई विशेष सुविधा र कार्यान्वयनमा सुधार गर्ने निर्णय भएको छ । यससँगै, साना र जोखिममा रहेका अर्थतन्त्रलाई विश्व व्यापार प्रणालीमा आबद्ध गराउन सहायता उपलब्ध गराउने सहमति भएको छ,” मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयन र एलडीसी प्याकेजका विषयमा थप छलफल गर्न सदस्य राष्ट्रहरू सहमत भएका छन् । यस सम्मेलनका निर्णयहरूबाट नेपाललाई अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन, क्षमता विकासका लागि प्राविधिक सहयोग प्राप्त गर्न र स्तरोन्नतिपश्चात पनि औद्योगिक विकासका लागि आवश्यक नीतिगत स्थान सुरक्षित गर्न महत्त्वपूर्ण अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।