विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्बमाथि, १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.7K
SHARES

२० चैत काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस्तो सञ्चिति गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो ।अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ७८ अर्ब ६६ करोड कायम छ ।सो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार, उक्त विदेशी विनिमय सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने  देखिन्छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेको छ ।