शोधनान्तर र चालु खाता बचतमा
२० चैत काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, समीक्षा अवधिमा नेपालको बाह्य आर्थिक सूचकहरूमा सुधार कायमै देखिएको छ । विशेष गरी चालु खाता र शोधनान्तर स्थिति दुवैमा गत वर्षको तुलनामा बचत निरन्तर बढेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा यस्तो खाता १ खर्ब ७८ अर्ब ३ करोड मात्र बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्ष १ अर्ब ४६ करोड डलर बचतमा रहेको चालु खाता यसपटक उल्लेखनीय रूपमा बढेर ३ अर्ब ८८ करोड डलर पुगेको छ ।
यस्तै, यस अवधिसम्ममा मुलुकको शोधनान्तर स्थिति पनि सुदृढ देखिएको छ । जसअनुरुप शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । यो गत वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर बचत अघिल्लो वर्षको २ अर्ब २९ करोडबाट बढेर यस अवधिमा ४ अर्ब ६१ करोड डलर पुगेको छ ।
चालु आवको फागुनसम्ममा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड पुगेको छ । यो गत वर्ष ६ अर्ब ८१ करोड रुपैयाँ को हाराहारीमा थियो । यस्तै, यस अवधिमा १० अर्ब ८४ करोड रुपैयाँले प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको थियो ।
केन्द्रीय बैंकको उक्त तथ्यांकहरूले मुलुकको विदेशी मुद्रा सञ्चिति र बाह्य भुक्तानीको सन्तुलनमा उल्लेख्य सुधार भएका देखाएको छ । साथै यसले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बन्दै गएको संकेत गरेको छ ।