आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.3K
SHARES

२० चैत काठमाडौैं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । बजेट निर्माणका लागि बजेट लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित यो समिति बनाइएको हो ।राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुलाई सदस्यका रूपमा चयन गरिएको छ ।

समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

यो समितिले मुख्यगरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।

सङ्घीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ । अर्थमन्त्रीले संसद्मा पेश गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार गरी पेश गर्ने कार्यभार समेत यस समितिलाई तोकिएको छ ।