सम्पत्ति सार्वजनिक भएपछि स्रोत खुलाउन दबाब


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1K
SHARES

३० चैत काठमाडौं । संघीय सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाइरहेको छ। यसैबीच प्रतिपक्षी दलका नेताहरूले मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण मात्र होइन, त्यसको स्रोत समेत खुलाउनुपर्ने माग उठाइरहेका छन्।

मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माइतीघरमा प्रदर्शन

त्यति मात्रै होइन, अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार माइतीघरमा मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै दबाब दिन प्रदर्शन समेत गरेको छ।

स्रोत खुलाउनुपर्ने प्रतिपक्षी दलका नेताहरूको माग

सामाजिक सञ्जालमार्फत प्रतिपक्षी दलका नेताहरूले मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गरिरहेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले केवल सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्याप्त नभएको उल्लेख गर्नुका साथै सम्पत्तिको वास्तविक स्रोतसमेत खुलाउन आवश्यक रहेको टिप्पणी गरे।

हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो। अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत प्रष्ट्याइदिनु पर्छ।’

यस्तै, अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको दाबी गरेका छन्।

उनले हदबन्दीभन्दा बढी जग्गासमेत स्वघोषणा भएको बताउँदै मन्त्रीहरूको सम्पत्तिमै राज्यको कानुन आकर्षित भएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरूको सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, सेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दीभन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ।’

सरकारका कतिपय मन्त्रीहरूको सम्पत्तिमा नगद, गरगहना, घरघडेरी, सेयर, अन्य लगानी देखिएको र नेपालीहरूको औसत आम्दानीभन्दा माथि रहेको पाइएको उनले बताए।

उनले आयकर तिरेको विवरण सार्वजनिक गर्न सरकारका मन्त्रीहरूलाई सुझाव समेत दिए। उनले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आएको भए पनि त्यसको उत्पत्तिबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन्।

“बिना भ्रष्टाचार कमाउनु पाप होइन”  : गृहमन्त्री गुरुङ

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर उठेका जिज्ञासापछि गृहमन्त्री सुधन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सरकारमा प्रवेश गर्नुअघि इमान्दारीपूर्वक सम्पत्ति कमाउनु गलत नभएको धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङले लेखेका छन्, “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।”