४१ अर्ब ७९ करोड रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता
४ बैशाख काठमाडौं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने प्रतिबद्धतामा आएको छ ।
विभागका अनुसार, पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि एक अर्ब १२ करोड ९२ लाख रूपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार, परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमूलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँबराबरको लगानी भित्रिएको छ ।
पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँबराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामूलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्र (औद्योगिक)तर्फ ३८ वटा परियोजनाका लागि दुई अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँबराबरको लगानी प्राप्त भएको छ ।
यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुईवटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । खनिजमूलक क्षेत्रमा पनि दुईवटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँबराबरको मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।