सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा चुनौती – महानिरीक्षक कार्की


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
1.5K
SHARES

१० बैशाख काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरू दर्ता नभएका कारण अनुसन्धानमा चुनौती देखिएको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता नहुँदा अनुसन्धानमा चुनौती देखिएको बताए ।

सामाजिक सञ्जालबाट समयमा नै जानकारी प्राप्त गर्न नसक्दा र आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुँदा क्षति नियन्त्रणमा ढिलाइ हुने गरेको उनले बताए । अहिले प्रहरी अधिकारीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसँग आवश्यक डाटा प्राप्त गरिरहेको उनको भनाइ छ ।कार्कीले प्रहरीको तीन वर्षे रणनीति योजना छिटै सार्वजनिक गर्ने र त्यसमा साइबर बुलिङका विषयमा स्पष्ट नीति ल्याइने जानकारी दिए । पीडितहरूको गोपनीयतालाई समेत ख्याल गर्दै साइबर बुलिङका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनले बताए ।

साइबरसम्बन्धी विषयहरूलाई पहिले काठमाडौंबाट मात्रै अनुसन्धान हुने गरेकोमा अहिले काठमाडौं बाहिरबाट पनि अनुसन्धान हुने गरेको उनले बताए । महानिरीक्षक कार्कीले प्रहरीको साइबर ब्युरोमा गत वर्ष १८ हजार ९२६ उजुरी परेकामा यस आर्थिक बर्षको ९ महिनामा मात्रै झण्डै १५ हजारको संख्यामा उजुरी दर्ता भएको जानकारी दिए ।बैठकमा समिति सदस्यहरूले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जालको नियमनसम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।