यी जिल्लामा तीव्र हावाहुरीको चेतावनी
१५ बैशाख काठमाडौं । देशका केही स्थानमा बुधबार (वैशाख १६) तीव्र हावाहुरीको पूर्वानुमान छ । सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“भोलि (बुधबार) सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
विभागका अनुसार, बुधबार साँझ करिब ५:४५ बजे हुरी सुरु हुने सम्भावना छ । बिहीबार (वैशाख १७) बिहान करिब ७:४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ ।
“मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना रहेको छ,” विभागले भनेको छ । देशका विभिन्न स्थानमा बिहीबारसम्म मेघगर्जन/चट्याङसहित वर्षाको पूर्वानुमान छ ।