उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन
२३ बैशाख काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६० औँ साधारण सभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । वैशाख २२ गते काठमाडौँको कमलादीमा भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार विभिन्न पदमा उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गरेका छन् ।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । उनलाई नै अनुकूल हुने गरेर महासंघमा नयाँ नेतृत्व चयन भएका छन् । श्रेष्ठले नै समर्थन गरेका एशाेसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले हराउँदै विजयी भएका हुन् ।
निर्वाचनमा एशाेसिएटतर्फको उपाध्यक्षका लागि कुल १ हजार ८३४ मत खसेको थियो । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मत मात्रै प्राप्त गरिन् । ज्योत्सना हेमराज ढकालको प्यानबाट उम्मेदवारी दिएकी थिइन् । उनले एसोसिएट उपाध्यक्षमा दोहोर्याउन चुनावी मैदानमा उत्रिएकी थिइन् ।
एशाेसिएटतर्फ निर्वाचित १७ जना सदस्यहरूमध्ये ज्योत्सनाको प्यानलबाट एकजना मात्रै विजयी भएका छन् । बाँकी अन्य सबै पाण्डेका प्यानलका सदस्यहरूले जित हासिल गरेका छन् । एशोसिएट सदस्यमा सर्वाधिक मतसहित सचिन ढकाल विजयी भएका छन् । सचिनले १३ सय १८ मत पाएका हुन् । ढकालसहित विजयी हुनेहरूमा हेमन्त गोल्छा १२०२, अम्बिका प्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशील थापा १०९४, रामशरण भण्डारी १०४३, राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्ण लाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, इश्वर बहादुर जिसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछानेले ८६० मत पाएका छन् ।
त्यस्तै, जिल्ला नगरतर्फको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । अञ्जनले नै समर्थन गरेका उनीहरू दुई जनाले क्रमशः ८७ र ८० मत ल्याएका थिए । तर, वस्तुगत उपाध्यक्षमा भने अञ्जन समूहका उम्मेदवार हारेका छन् । यस समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका शिव घिमिरेले ६० मत मात्रै पाए । उनलाई हराउँदै हेमराज समूहका नरेशलाल श्रेष्ठले ६३ मत ल्याएर वस्तुगत उपाध्यक्ष पदमा जित निकालेका छन् ।
वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि १३ जना निर्वाचित भएका छन् । जसमा अरनिको राज भण्डारीले ७०, विदुर धमलाले ६८, सागर ढकालले ६८, रवीन पुरीले ६६, राजकुमार कार्कीले ६३, पशुपतिदेव पाण्डेले ६२, लिलेन्द्र प्रधानले ६२, भक्तबहादुर हमालले ५६, नानिराज घिमिरेले ५२, संघर्ष विष्टले ५१ र होमप्रसाद घिमिरेले ५१, सुनिता नेहाफुकीले ५४ मत ल्याएका छन् । अन्य चार जना निराजन चलाउने, रघु नन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले भने बराबरी ५०–५० मत ल्याएका छन् । यी ४ मध्येबाट ३ जनालाई गोलाप्रथाबाट चुनिने भएको छ ।