देशभर बकर इदको हर्षोल्लास


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३
988
SHARES

१४ जेठ काठमाडौँ । मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाएका छन् । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ । यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन् । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ । तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन् ।

पर्वलाई धार्मिक मर्यादासहित सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सावधानी अपनाइएको छ । यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी ९बलि० दिने प्रचलन रहेको छ ।

धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिनुपर्ने आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए । उनको निष्ठा र विश्वासबाट अल्लाह प्रसन्न भई अन्ततः मानवको सट्टा जन्नतमा पालिएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ । यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन् ।

धार्मिक विश्वासअनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए । सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो । अल्लाहले उनको विश्वास र धैर्यको परीक्षा लिन सपनामार्फत आदेश दिएको र अन्ततः उनको आस्था सफल भएको धार्मिक कथन छ ।

कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ ।