सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्कियो – भीमार्जुन आर्चाय
१७ जेठ काठमाडौं । संविधानविद् भीमार्जुन आर्चायले यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्किएको टिप्पणी गरेका छन् ।प्रधानमन्त्री बालेन शाहले आज संसदमा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्दै विवादित अभिव्यक्ति दिएपछि संविधानविद् आचार्यले यस्तो बताएका हुन् ।
उनले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको बताए ।दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक रहेको उनको भनाइ छ ।
आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड नभएकोले उनले उल्लेख गरेका छन् ।‘यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।’ उनले भनेका छन् ।