बोलेरो दुर्घटना: तीन जनाको मृत्यु, पाँच घाइते
१८ जेष्ठ सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिका मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।दिउँसो करिब १ बजेतिर भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार गुडिरहेको गाडीको ब्रेक फेल भएपछि सडकबाट करिब ४०० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायका अनुसार दुर्घटनामा परी शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, वडा- ४ का ३९ वर्षीय मित्र सुनार र वडा – ६ की ६० वर्षीया पुल्तिसरा विकको मृत्यु भएको हो।
घाइते अवस्थामै उनीहरूलाई जिल्ला अस्पताल दैलेख पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा चक्र सुनार, भरत विक, कलम सुनार, सुमत विक र नैन सुनार घाइते भएका छन्। घाइतेमध्ये सुमत विक र नैन सुनारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।
घटनापछि भैरवी प्रहरी चौकी, पानीपोखरी, इलाका प्रहरी कार्यालय दुल्लु तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।