२९ गतेको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०८३
418
SHARES

२२ श्रावण काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्ने भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । उक्त पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताए ।  उनले भने, “मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्य दिशा तय गर्न यही २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाको आयोजना गरिएको कुरा सर्वविदितै छ । भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ । यो ऐतिहासिक राष्ट्रिय भेलामा सहभागिताका लागि पार्टी संगठन, भातृसंस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु ।”

उक्त पक्षले सर्वोच्च अदालतले आधिकारिकताका विषयमा पुनरवलोकनको अनुमति प्रदान गरेको भन्दै स्वागत गरेको छ । “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी मुद्दामा सर्वोच्च अदालत बेञ्चबाट भएको फैसला आदेशउपर न्यायिक पुनरवलोकन गरिपाउँ भनि पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको निवेदनमा सम्मानित सर्वोच्च अदालतले २०८३ साउन २१ मा पुनरवलोकनको अनुमति प्रदान गरेको छ,” डा. कोइरालाले भने, “सर्वोच्च अदालतको यो निर्णयको हार्दिक स्वागत गर्दछु ।

सर्वोच्च अदालतबाट अब हुने पुनरवलोकनबाट न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको उनले बताए ।  राष्ट्रसामु उपस्थित चुनौतीहरूको सामना गर्न कांग्रेसजनलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य हुने उनको भनाइ छ । देउवा यही साउन २६ गते नेपाल फर्कंदै छन् ।