भाषण अघि विश्वविद्यालय सुधार्न उपकुलपतिलाई विद्यार्थी नेताको चुनौती


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०८३
684
SHARES

२५ श्रावण काठमाडौं ।  अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिब शिरर बस्यालले भाषण अघि विश्वविद्यालय सुधार्न उपकुलपतिलाई विद्यार्थीको चुनौती दिएका छन । विश्वविद्यालयहरूमा शैक्षिक गुणस्तर खस्कँदै गएको र नेतृत्वले आफ्नो कमजोरी ढाकछोप गर्न विद्यार्थीमाथि दोष थुपार्ने गरेको भन्दै विद्यार्थी नेतृत्वले आक्रोश व्यक्त गरेका छन्। उपकुलपति प्रा.डा. भोला थापाले “विद्यार्थी नियमित कक्षाकोठामा आउनुपर्ने र विश्वविद्यालयले पूर्णकालीन विद्यार्थी राख्ने आँट गर्नुपर्ने” भनी दिएको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले उल्टै नेतृत्वको क्षमतामाथि प्रश्न उठाएका हुन्।

ज्ञान सम्प्रेषण मात्र होइन, उत्पादन मुख्य काम

विद्यार्थी प्रतिनिधिहरूका अनुसार विश्वविद्यालयको प्राथमिक जिम्मेवारी केवल तयारी ज्ञान बाँड्नु (सम्प्रेषण) मात्र नभई नयाँ ज्ञानको उत्पादन गर्नु हो। तर, नेपालका विश्वविद्यालयहरू अनुसन्धान र ज्ञान उत्पादनमा पूर्ण रूपमा चुकेका छन्। “ज्ञान उत्पादन गर्ने जनशक्ति र अनुसन्धानकर्तालाई बिहान के खाऊँ र दिउँसो के लगाऊँ भन्ने आधारभूत आर्थिक चिन्ता भइरहने वातावरण विश्वविद्यालयले बनाएको छ,” एक विद्यार्थी नेताले भने, “यस्तो अवस्थामा विद्यार्थीका बारेमा अर्ती उपदेश र भाषण दिनुअघि उपकुलपतिले संस्थालाई वास्तविक विश्वविद्यालय जस्तो बनाउन लाग्नुपर्छ।”

नेतृत्वको गैरजिम्मेवारीपन र लाचारीमाथि प्रहार

उपकुलपति थापाको कार्यशैलीप्रति कडा प्रहार गर्दै विद्यार्थीहरूले नेतृत्वको लाचारीलाई ‘केरा खेलाएर बस्ने’ प्रवृत्तिसँग तुलना गरेका छन्। हिजोका दिनमा विद्यार्थी संगठनहरूका कारण काम गर्न नसकिएको बहाना बनाउने नेतृत्वले आज आएर विद्यार्थीहरू नियमित नभएको भन्दै दोष पन्छाउन खोजेको उनीहरूको आरोप छ।

जस्तो विश्वविद्यालयको वातावरण र संयन्त्र हुन्छ, विद्यार्थी पनि त्यस्तै बन्ने हुन्,” आक्रोशित हुँदै विद्यार्थीहरूले थपे, “कक्षाकोठा आकर्षक, व्यवस्थित र समयसापेक्ष नहुँदा कक्षा नसकिँदै घडीको सुइ हेरेर कतिखेर निस्कुँ भन्ने रहर यहाँ कुनै पनि विद्यार्थीलाई छैन। कमजोरी प्रणालीको हो, विद्यार्थीको होइन।

विश्वविद्यालय प्रशासनले आफ्नो संरचनागत, प्रशासनिक र प्राज्ञिक सुधार गर्नुको साटो सधैँ सरोकारवालाहरूमाथि दोष थोपर्ने परिपाटी कायम राखेसम्म उच्च शिक्षाको साख नफर्कने विद्यार्थीहरूको सामूहिक निष्कर्ष छ।  साथै  जन-प्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारीले पनि उपकुलपति ज्यू लाईचुनौती दिएका छन् ।

उपकुलपति ज्यू,
जुनसुकै उपकुलपति आउँदा विश्वविद्यालय न बन्नुमा पहिलो जिम्मेवार विद्यार्थीलाई नै बनाउँछन् यो नौलो विषय हैन । तपाईहरुको प्रमुख जिम्मेवारीमध्ये एउटा विद्यार्थीलाई कक्षामा नियमित बनाउनु पनि हो। विद्यार्थी कक्षामा उपस्थित हुनुपर्छ, परीक्षा दिन मात्र विश्वविद्यालय आउने प्रवृत्ति उचित होइन , त्यस्ता विद्यार्थी खुल्ला विशवविद्यालय जानुस भन्नु हुन्छ यस अर्थमा तपाईंले उठाउनुभएको कुरा आंशिक रूपमा सही छ।

तर एउटा प्रश्न गम्भीर रूपमा सोध्न चाहन्छु : विश्वविद्यालय आउन खोज्ने, पढ्न खोज्ने विद्यार्थीले कक्षा समयमा कक्षा कोठा भन्दा पुस्तकालय किन बढी रोज्छन् ? ख्याल गर्नु भएको छ ?

आफ्नो Academic Course पढ्न विश्वविद्यालय आएको विद्यार्थीको भीड पुस्तकालयमा किन हुन्छ ?
तर त्यहाँ पनि सबैभन्दा ठूलो भीड जागिर खानलाई लोकसेवा तयारी गर्ने विद्यार्थीको किन हुन्छ ?
हामीले विद्यार्थीलाई मात्र दोष दिने कि हाम्रो higher education policy पनि जिम्मेवार हो , हाम्रो उच्च शिक्षा नीतिले विद्यार्थीलाई सक्षम Academician, Researcher, Innovator र Professional बनाउने लक्ष्य राखेको हो कि केवल एउटा उपाधि हातमा दिने?
आज त्रिभुवन विश्वविद्यालयका कति विद्यार्थीले वास्तविक Research गर्न पाएका छन्?
कति विद्यार्थीले Innovation गर्न पाएका छन्?
कति वटा Campus मा Research, Innovation तथा Policy Lab को अवधारणा छ?
कहिले हामीले पाठ्यक्रमको सिद्धान्तलाई व्यवहारिक सीपसँग जोड्ने? कहिले शिक्षालाई रोजगारीसँग जोड्ने?
कहिले विद्यार्थीले विश्वविद्यालयबाट केवल Certificate होइन, Competence लिएर निस्कने वातावरण बनाउने?
अर्को महत्वपूर्ण प्रश्न जो त्रिवि मै भविष्य बनाउन चाहन्छन् उनीहरूको लागि त्रिवि सेवा आयोगको ONM Survey कहिले सम्पन्न गर्ने ? विश्वविद्यालयलाई जनशक्ति, संरचना र सेवा प्रवाहका हिसाबले व्यवस्थित बनाउनुपर्ने विषयमा कहिले बोल्ने ?
हामीलाई TU आंशिक रूपमा होइन, पूर्ण रूपमा Research, Innovation, Entrepreneurship र Policy-oriented University बनेको हेर्न मन छ यसको लागि पनि विद्यार्थीलाई दोष दिने कि?
उपकुलपति ज्यू, विद्यार्थीलाई प्रविधिसँग जोड्ने, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने कुरा TU vision 2030 मा छ तर कक्षामा आउन नसकेको विद्यार्थीलाई “Open University जाऊ” भनेर मात्र समाधान खोज्ने हो भने प्रश्न फेरि उहीँ आउँछ समस्या विद्यार्थीमा मात्र छ ?
ODEC अथवा Open and Distance Learning जाउ भन्नेको भए पचाउन पनि सकिन्थ्यो तपाईंले त सिधैं university फेर्न लगाइदिनु भयो ।
कक्षा न आउने विद्यार्थी लाई open university जाउ भन्दै गर्दा TU का कक्षाकोठामा जुत्ता–चप्पल घोटेर पढिरहेका विद्यार्थीहरू भेटिन्छन् ती विद्यार्थीले तपाईंसँग “हामीले गुणस्तरीय शिक्षा किन पाएनौँ?” भनेर प्रश्न गरे भने हामीले उनीहरूलाई फेरि KU मा पठाउने कि TU मै गुणस्तरीय शिक्षा दिने वातावरण बनाउने उपकुलपति ज्यू?
मेरो बुझाइमा समस्या विद्यार्थी मात्र होइन। समस्या नेतृत्वमा पनि छ, उच्च शिक्षा नीतिमा पनि छ, संरचनामा पनि छ र हाम्रो कार्यशैलीमा पनि छ।
एकपटक हरेक Campus का स्ववियु सभापति तथा विद्यार्थी प्रतिनिधिलाई पार्टीगत संकुचित सोचभन्दा माथि उठाएर विश्वविद्यालय सुधारको साझेदारका रूपमा राखेर हेर्नुस्। उनीहरूलाई केवल आन्दोलन, नाराबाजी र विरोधसँग जोडेर नहेर्नुस्। साँच्चिकै TU बनाउने हुटहुटी छ भने संवाद गर्नुस् तपाईं शिक्षा मन्त्रालय धाइरहनै पर्दैन, त्रिवि दिवस पनि विद्यार्थी बिना मनाइरख्नु पर्दैन VC साब। तपाईंले चाहनुभयो भने विद्यार्थी नेताहरूले नै हरेक Campus का कमजोरी, समस्या र सुधार गर्नुपर्ने क्षेत्रको सूची तपाईंलाई देखाइदिन सक्छन्। Campus प्रमुखले विविध कारणले देख्न नसकेका धेरै विषय विद्यार्थी प्रतिनिधिले दैनिक जीवनबाट देखिरहेका हुन्छन्।
यस्ता विषय धेरै छन् आज लेखिरहेको कुरा तपाईंको त्यो एउटा छोटो Clip हेरेपछि लेख्न मन लागेको केही कुरा मात्र हुन्।
म तपाईंहरू जस्तो विज्ञ Professor होइन।, नामको अगाडि डाक्टर लागेको पनि हैन, तर विश्वविद्यालयको एउटा विद्यार्थीका रूपमा विद्यार्थी प्रतिनिधि को नाताले मैले देखेको र बुझेको विश्वविद्यालयका केही अंशबारे मात्र लेखेको हुँ। चित्त दुखे पनि, राम्रो लागे पनि न लागे पनि यो केवल कटाक्ष मात्र होइन , म यस विषयमा तपाईंलाई समाधानसमेत दिन सक्ने ल्याकत राख्छु र सार्वजनिक रूपमा TU मा यी समस्या छन् भनेर Defense गर्न सक्ने ल्याकत पनि राख्छु।
तपाईं नयाँ TU मा हुनुहुन्छ, उच्च शिक्षामा होइन। हामी आशावादी छौँ। TU लाई बनाउनुहोस्, साँच्चिकै बनाउनुहोस्।
TU का ५ लाख विद्यार्थी मात्र देखेर गर्व नगर्नुहोस्। त्यस्ता संसारमा साँच्चिकै औँलामा गन्न सकिने विश्वविद्यालयहरू त छन्, VC साब। तर हाम्रो TU मा International Students को Exposure कति छ?
तपाईं नयाँ TU मा आउनुभएको छ तर तपाईंको जिम्मेवारी उच्च शिक्षाको भविष्य निर्माण गर्ने नेतृत्वको हो त्यसैले सबै थरीका फूल फुल्न सक्ने बगैँचा बनाउनुस् ।
Research, Innovation, Academic Freedom र Global Exposure का हिसाबले हामी अवल हुन सकेका छैनौं त्यसको जिम्मेवार पहिला को राजनीतिक हस्तक्षेप भन्दा पनि राजनीतिक नियुक्ति भन्दा पनि म पत्याउँछु तर ती नियुक्त हुनु भएका हरु पनि प्रा. डा हरु नै थिए ती तपसिलका विषय हुन् त्यता न लगौ ।
हाम्रो प्रश्न जीवन्त छ :
TU मा International Students को Exposure कति छ? International Collaboration कति छ? student एक्सचेन्ज प्रोग्रामको अवधारणा कति छ? Research Output कस्तो छ? Innovation कति छ? Graduate Employability कस्तो छ? Industry–University Linkage कति बलियो छ? Policy Research मा TU को योगदान कति छ?
यी प्रश्नहरूका उत्तर खोज्नुपर्छ।
विद्यार्थीलाई अनुशासन चाहिन्छ : निश्चित रूपमा।
कक्षामा नियमितता चाहिन्छ: निश्चित रूपमा।
तर त्यसभन्दा पहिले विद्यार्थीलाई विश्वविद्यालयमा आकर्षित गर्ने Academic Environment पनि चाहिन्छ।
विद्यार्थीलाई केवल “कक्षामा आऊ” भन्नुभन्दा पहिले विश्वविद्यालयले पनि भन्न सक्नुपर्छ
“आऊ, यहाँ पढ्ने वातावरण छ। आऊ, यहाँ Research गर्ने अवसर छ। आऊ, यहाँ Innovation गर्ने ठाउँ छ। आऊ, यहाँ सीप सिकिन्छ। आऊ, यहाँ भविष्य बनाउने आधार पाइन्छ। आउ यहाँ हामीले शिक्षा को अर्थ जागिर मात्र सिखाउँदैनौ “
हामीलाई केवल कडा VC चाहिएको होइन। हामीलाई दूरदर्शी, संवादशील, अनुसन्धानमुखी, विद्यार्थीमैत्री र परिणाम दिन सक्ने VC चाहिएको हो।
तपाईंलाई उपकुलपति भएको बधाई पनि दिन बाँकी थियो हार्दिक बधाई उपकुलपति ज्यू TU लाई साँच्चिकै बनाउनुहोस्। इतिहासमा अर्को VC भएर होइन TU को रूपान्तरण गर्ने VC भएर चिनिनुहोस्, शुभकामना ।