प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०८३
399
SHARES

२५ श्रावण काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन्।  प्रधानमन्त्री शाहले विदेशी राजदूतलाई पहिलो पटक एक्काएक्लै भेटेका हुन्। यसअघि गत चैत २५ मा विदेशी राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।