कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न – सांसद रेनुका काउचा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०८३
285
SHARES

२५ श्रावण काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरिन्।

संसद्ले प्रश्न सोध्नु घेराबन्दी नभएको बताइन्। उनले भनिन्, ‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन। प्रतिपक्षले दैनिक संसद्मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो?’

उनले प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? भन्दै प्रश्न गरिन्।उनले थपिन्, ‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ। तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।’

दैनिक संसद्मा उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको प्रश्नले प्रधानमन्त्रीको साखलाई कमजोर बनाइरहेको बताइन्।उनले संसद्को रेकर्डमा रहेको विवादास्पद अभिव्यक्तिलाई सच्याउन पनि किन यति धेरै कठिनाइ भइरहेको छ? भन्दै प्रश्न गरिन्।उनले थपिन्, गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो। प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ।’