भाषा बाँच्नु भनेको सभ्यता र पुर्खाको ज्ञान बाँच्नु हो – मन्त्री सोविता गौतम
२५ श्रावण काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्। काठमाडौंमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन्। अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको सम्मेलनमा मन्त्री गौतमले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन्।
‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सिमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ,’ उनले भनिन्, ‘नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो।’
राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन्। मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यको गतिविधिबारे थाहा पाउनुपर्ने उनको भनाइ थियो। ‘जब नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचनाहरू प्राप्त गर्छन्, तब मात्र लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ,’ मन्त्री गौतमले थपिन्, ‘भाषा केवल घर वा समुदायमा बोलेर मात्र जोगिँदैन, यसलाई सञ्चारमाध्यमका माध्यमबाट प्रयोगमा ल्याउँदा मात्र जीवन्त राख्न सकिन्छ। भाषा बाँच्नु भनेको हाम्रो सभ्यता र पुर्खाको ज्ञान बाँच्नु हो।’
मन्त्री गौतमले मातृभाषाका पत्रकारले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन्। उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव पेश गर्न पत्रकारलाई आग्रह पनि गरिन्। उनले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिवद्ध रहेको बताइन्।
अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन्। विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता, तथा सञ्चारकर्मीको सहभागिता रहेको सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाईमा पुर्याउने विश्वास समेत उनले व्यक्त गरिन्।