एकताका लागि देउवाले गरे आव्हान (पूर्णपाठ)
२८ साउन काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले एकताको आह्वान गरेका हुन्। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका छन्।कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताए। उनले पार्टीभित्र देखिएका असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ। तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुभेच्छुक, समर्थक मतदातालगायत काम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो। सोही नीति अनुसार सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गर्न चाहन्छु।’
वि.सं. २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग उल्लेख गर्दै उनले वर्तमान समयमा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन्।उनले भनेका छन्, म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएका छन्।
