व्यवसायिक वातावरण निर्माण गर्न उद्योगी/व्यवसायीको माग


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०८३
1.2K
SHARES

६ भदौ काठमाडौं । उद्योगी/व्यवसायीहरूले व्यवसायिक वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको उद्योगीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा गरेको स्वागत तथा अन्तरक्रियामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भने, “निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहन्छ ।”

उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन वस्तुगत संघहरूलाई आग्रह गरे ।

“सबै वस्तुगत समितिका समस्याहरू महासंघका साझा समस्या हुन् । महासंघ यी समसयाहरू सरकारसँग राख्न र समाधानको लागि पहल गर्न सदैव तयार छ ।”

अध्यक्षा श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित अवस्थामा रहेको, व्यवसायिक वातावरण बिग्रिरहेको, बजारमा माग नभएको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सरकासँग आग्रह गरे ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघहरूका समस्या समाधानमा महासंघले सहजीकरणको भूमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्नेमा जोड दिए ।

वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै संघहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।