कांग्रेसले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने
१४ भदौ काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने भएको छ। आज बसेको पार्टी बैठकले पार्टीका नेता कार्यकर्ताबाट जम्मा भएकोसहित पार्टीको तर्फबाट एकमुष्ट १ करोड प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताए।
उनले पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ सङ्घ एवं सुभेक्छुक संस्था र पार्टीका सदस्यहरूले पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको पनि बताए।
विपद्बाट प्रभावित जिल्लाका पार्टी नेतृत्व एवं सदस्य साथीहरू, जिल्ला सम्पर्क समितिहरू, भ्रातृ सङ्घ शुभेच्छुक संस्थाहरूलाई हराइरहेका नागरिकलाई खोजी गर्न, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत उपलब्ध गराउन, स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा परिचालित हुन पुनः आग्रह गरेको छ।
साथै विपद्को प्रभावित क्षेत्रभन्दा बाहिरका जिल्लाका बाढीमा परेकाका परिवारलाई सहयोग र परामर्श उपलब्ध गराउन तत् तत् जिल्ला र स्थानीय तहका नेतृत्व एवं जनप्रतिनिधिलाई आग्रह गरेको उनले बताए।
केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँ नगरपालिकाको वडागत रूपमा सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न, समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण र सहयोगबारे सिफारिस गर्न समेत बैठकले निर्देशन दिएको छ।