अर्थमन्त्री डा. वाग्ले भारत प्रस्थान


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १ २०८३
209
SHARES

१ असोज काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा मन्त्री डा. वाग्ले आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।  भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी  हुनेछन् ।

शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ताको कार्यक्रम छ । शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।  शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ । उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।