साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्य
२ असोज काठमाडौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीका लागि पेमेन्ट पार्टनर बैंक (Payment Partner Bank) को रूपमा सहकार्य सुरु गरेको छ।
नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने साझा यातायातको उद्देश्यअनुरूप यो साझेदारी गरिएको हो। यस व्यवस्थाले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउन सहयोग पुर्याउनेछ।
यात्रुलाई सहज र सुरक्षित भुक्तानीको सुविधा
यस सहकार्यअन्तर्गत साझा बसका यात्रुहरूले डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्नेछन्। ट्रान्जिट टिकेटिङ प्रणालीलाई सफल बनाउन बैंकले साझा बसहरूमा आफ्ना POS मेसिनहरू प्रयोग गर्नेछ। यसबाट यात्रुहरूले कार्ड तथा अन्य डिजिटल माध्यमबाट सहज र सुविधाजनक रूपमा भुक्तानी गर्न पाउनेछन्।
डिजिटल रूपान्तरण र आधुनिक सेवा
साझा यातायातले आफ्नो डिजिटल रूपान्तरण अभियानअन्तर्गत आधुनिक ‘कमाण्ड र कन्ट्रोल सेन्टर’ तथा अन्य प्रविधिमैत्री सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल टिकेटिङ प्रणालीमार्फत नगदरहित (Cashless) यात्रा लाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ, जसमा विभिन्न डिजिटल भुक्तानी माध्यमहरूलाई समेटिएको छ।सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न यो सहकार्यलाई एउटा महत्त्वपूर्ण कदम मानिएको छ।
यसले यात्रुहरूलाई थप सहज भुक्तानी अनुभव प्रदान गर्नुका साथै भुक्तानी प्रक्रियामा पारदर्शिता ल्याउन र समग्र यातायात सेवाको आधुनिकीकरणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।