स्वर्णिम वाग्ले- जयशङ्कर भेटवार्ता
२ असोज काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल- भारतबीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढाउने विविध विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै गएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ बनाउने तथा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।
यसअघि अर्थमन्त्री वाग्लेले भ्रमणको पहिलो दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । सो क्रममा द्विपक्षीय आर्थिक हित र सहकार्यका विषयमा छलफल भएको थियो ।त्यस्तै, उनले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग पनि छलफल गरेका थिए ।