एनपीएललक्षित सिद्धार्थ बैंकका आकर्षक योजना सार्वजनिक
१ असोज काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरका रूपमा आबद्ध सिद्धार्थ बैंकले नयाँ ग्राहकलक्षित ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ । सिद्धार्थ एनपीएल क्रेडिट कार्ड योजनाअन्तर्गत बिहीबार (असोज १)देखि आउँदो मंसिर २९ गतेभित्र आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।यसनिम्ति शर्त तोकिएको छ । पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गरेकै समयमा पूर्ण रूपमा छुट दिइनेछ ।
“दोस्रो वर्षदेखि ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेको खण्डमा मात्र वार्षिक शुल्क फिर्ता गरिनेछ । यस्तै, वार्षिक शुल्क फिर्ताको योग्यता हरेक वर्ष मूल्यांकन गरिनेछ,” बैंकद्वारा जारी विज्ञप्ति भनिएको छ, “कुनै वर्ष न्यूनतम कारोबार पूरा नभएमा त्यो वर्ष यो सुविधा लागु हुने छैन । न्यूनतम कारोबार पूरा गरेमा ग्राहकहरू अर्को वर्ष पुनः यस सुविधाका लागि योग्य हुनेछन् ।”
सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले पनि सुविधा प्राप्त गर्न सक्नेछन् । यो खाता खोलेका ग्राहकले विशेष सिद्धार्थ एनपीएल थिममा डिजाइन गरिएको डेबिट कार्ड पाउनेछन् । सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्र्डस पोइन्ट्स पाउनेछन् ।
सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ बैंक स्मार्ट एक्सपी दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुस्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजका रूपमा सेवा प्राप्त गर्न सक्नेछन् ।
यो अभियान अवधिमा सबैभन्दा बढी रिवार्र्डस पोइन्ट्स पाउने शीर्ष २० सिद्धार्थ एनपीएल बचत खातावालाले विशेष गिफ्ट ह्याम्पर पाउनेछन् । अभियान अवधिमा सबैभन्दा बढी रिवार्र्डस पोइन्ट्स कमाउने एक सिद्धार्थ एनपीएल बचत खातावालाले एसबीएलएनपीएल भिडियोमा फिचर हुने अवसर पाउने कम्पनीले जनाएको छ ।