नेप्से ११.९३ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १ २०८३
285
SHARES

१ असोज काठमाडौं । असोज महिनाको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.९३ अंक (०.४५ प्रतिशत)ले बढेर २६२४.३६ विन्दुमा बन्द भएको छ । नेप्से अघिल्लो दिनको तुलनामा सुधारिएको हो । बुधबार (भदौ ३१) २१.१९ अंकले घट्दा नेप्से २६१२.४२ विन्दुमा झरेको थियो ।

सरकारले गत भदौ २९ गते पुँजी बजार सुधारका लागि कार्ययोजना ल्याएको थियो । त्यसपछि बजार निरन्तर बढ्ने अपेक्षा गरिए पनि उतारचढाव देखिएको छ ।  आज कारोबार रकम सामान्य बढेको छ । पाँच अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । लगानीकर्ताले ५१ हजार ७२८ पटकसम्ममा एक करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर कारोबार गरे ।यस दिन कारोबारमा आएका ३३९ मध्ये ८५ कम्पनीको मूल्य घटेको छ । १७७ कम्पनीको सेयर मूल्य बढ्दा १६ वटाको स्थिर रह्यो ।

आज सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था अगाडि छ । यो कम्पनीको मूल्य १२.४३ प्रतिशतले बढेको छ । यता सबैभन्दा बढी गुमाउने कम्पनीमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालको मूल्य २.९७ प्रतिशतले घटेको छ । बढेको बजारमा लगानीकर्ताले सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार गरेका छन् । यो कम्पनीको एक दिनमै ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।