‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु
१ असोज काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु भएको छ । एक्स्पो बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको हो । नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्सपो आयोजना गरिएको हो । चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरे ।
सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रको विकासमा आबद्ध रियल स्टेट व्यवसायीहरूको मुख्य समस्याको रूपमा रहेको हदबन्दीलगायत विषय समाधान गर्न नेपाल सरकार प्रयासरत रहेको र प्रतिनिधिसभाको सभामुखको हैसियतले आफूले पनि सो विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भूकम्प र कोभिडजस्ता अप्ठ्यारो परिस्थितिमा पनि व्यवसायीहरूले अर्थतन्त्रमा सक्दो योगदान पुर्याउँदै आएको र अब पनि उत्तिकै सक्रिय रहने बताए । उनले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्ड भएकाले यो चलायमान नभई अन्य व्यवसाय फस्टाउन नसक्ने उल्लेख गरे ।
समारोहका सभापति एवम् नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले सरकारले निजी क्षेत्रलाई विश्वास गरेर ऐन नियममा आवश्यक सुधार गरिदिएमा धेरै काम गरेर देखाउन सकिने बताए ।
हालको हदबन्दी समस्या समाधान नगरिए रियल स्टेट व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आउने बताउँदै उनले कित्ताकाटको दीर्घकालीन समाधान गर्नुपर्ने कुरामा जोड दिए । हालैको विनाशकारी बाढीबाट विस्थापित नागरिकहरूको पुनर्वास र भत्केका संरचना पुर्ननिर्माणका लागि रियल इस्टेट व्यवसायीहरु सरकारसँग सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता प्रकट गरे ।
कार्यक्रमका आयोजक महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल स्टेट कम्पनीहरूलाई जग्गाको हदबन्दी छुट हुनुपर्ने, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याइनुपर्ने, ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने र यस क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिनुपर्ने नीतिगत मागहरू राखे । प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ ।