मन्त्रिपरिषद् बैठक बस्दै, १३ देशका लागि राजदूत सिफारिस हुने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २ २०८३
228
SHARES

२ आश्विन काठमाडौं । मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने भएको छ । आज (असोज २) बस्ने बैठकले नेपाली राजदूत सिफारिस गर्ने भएको हो । “अर्को दुई–तीन घण्टामा कुनै व्यवधान नआए आज मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटाअन्तर्गत विभिन्न देशमा राजदूत नियुक्तिको लागि १३ जनाको नाम सिफारिस गर्नेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “परराष्ट्रमन्त्रीज्यूले प्रस्ताव लैजाँदै हुनुहुन्छ ।”

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (असोज २) गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले राजनीतिक कोटाअन्तर्गत १३ जनाको नाम विभिन्न देशको राजदूतमा सिफारिस गर्नेछ ।

स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया, अष्ट्रियालगायत १३ देशको लागि आज बस्ने मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गर्नेछ । “दोस्रो चरणमा करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव)को नाम राजदूतमा सिफारिस गर्ने तय भएको छ,” स्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।

परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो । परराष्ट्रले आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजे तोकेको थियो । सो अवधिमा दुई हजार ७०० जनाको झन्डै चार हजार आवेदन परेका थिए ।