एमालेसँग तत्काल एकताको हल्लामा सत्यता छैन – नेता पुन
३ असोज काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका छन् ।शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले तत्कालै एमालेसंगको एकता र एकतापछि नेताहरुको बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् ।
उनले भविष्यमा पार्टी एकता गर्ने बिषयमा नेतृत्व तहमा कुराकानी भएको उल्लेख गरे । एमालेसंग प्रदेश सरकारमा सहकार्य भइसकेको भन्दै उहाले संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए । एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था नरहेको नेता पुनको भनाइ छ ।
त्यस्तै नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको भन्दै संविधानको बारेमा सत्तारुढ दल रास्वपाको स्पष्ट धारणा आउनुपर्ने बताए । सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि नतिजा नआउँदा आक्रोश बढेको उनले टिप्पणी गरे ।