वामपन्थी एकता अनिवार्य छ – वरिष्ठ नेता खनाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ४ २०८३
95
SHARES

४ आश्विन काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अनिवार्य भएको बताएका छन्। आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले देश संकटमा रहेकोले वामपन्थी एकता अनिवार्य देखिएको बताए। हाल वामपन्थी आन्दोलन कमजोर हुँदै गएको उनको भनाइ थियो।

‘अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो। अहिले त न्यूनतम रुपमा एकताबद्ध भएर जाऔँ भन्ने संस्कृति पनि देखिएको छैन। त्यस हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ,’ खनालले भने। वामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको उनको दाबी छ। राष्ट्रिय मुद्दाहरू समाधान गर्न वामपन्थी शक्तिहरू एकता गर्नुपर्नेमा खनालले जोड दिए।

‘अहिले एकदमै अस्थिरता अनि अनिश्चयताको अवस्थामा देश आइपुगेको छ,’ खनालले भने, ‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि आफूलाई भन्दै हामी सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन हौँ भनेर आएको हो र साँचो कुरा पनि हो, तर हामी आफैँले एकपछि अर्का गलत कार्यहरू, गलत सम्झौताहरू गर्न पुग्यौँ, त्यसले गर्दाखेरि देशको राष्ट्रियता गम्भीर मोडमा उभिन पुगेको छ।’ नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा वामपन्थी एकता गर्न उनले आह्वान गरे। तर एकता नेताहरूको टाउको जोडेर मात्रै गर्न नहुने उनको भनाइ छ।

‘एकता भनेको नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ खनालले भने, वामपन्थी एकता भनेको टाउको जोडेर हुँदैन।’ उनले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न विद्यमान नीति तथा कानुनमा संशोधन गर्नुपर्ने बताए। सहकारी क्षेत्रलाई बलियो बनाउन नयाँ नीतिगत तथा कानुनी आधार आवश्यक रहेको उनको भनाइ छ।