नागरिकको आत्मदाहमा सरकार पन्छिन मिल्दैन – नेता कार्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
1.2K
SHARES

६ असोज काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पवन कार्कीले देशमा नागरिकहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना हुँदा पनि सरकारले आफ्नो कमजोरी लुकाउन नागरिकमाथि नै दोष थोपर्ने गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ।

उहाँले जनताका छोराछोरीले आत्मदाह जस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आउनुमा राज्य र यसका नीतिहरू जिम्मेवार रहेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, “प्रश्न नागरिकको कमजोरीको होइन, राज्यको दायित्वको हो। यस्तो विषम परिस्थिति कसले सिर्जना गर्‍यो? राज्यको नीति कहाँ चुक्यो र न्याय कहाँ कमजोर भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ।”

केन्द्रीय सदस्यका अनुसार घटना घटेपछि दोषी खोज्नु वा मृतकमाथि नै कमजोरीको बिल्ला भिराएर सरकार आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन। घटना हुन नै नदिने सुरक्षित, न्यायपूर्ण र रोजगारीमैत्री व्यवस्था बनाउनु राज्यको पहिलो जिम्मेवारी भएको उहाँको तर्क छ।

समस्या दोहोरिन नदिनका लागि सरकारले तत्काल दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै उहाँले सरकारलाई राजनीतिक दाउपेच र दोषारोपण बन्द गरी नागरिकप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ। उहाँले थप्नुभयो, “आफ्नो कमजोरी लुकाउन नागरिकमाथि दोष थोपर्न बन्द गरौँ। अहिलेको आवश्यकता दोषारोपण होइन—जवाफदेहिता र स्पष्ट समाधान हो।”