अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीसहित रक्षा र परराष्ट्रको जिम्मेवारी
६ असोज काठमाडौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी साँझ ७ बजे अमेरिकातर्फ उडेका हुन्।अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका थिए। बिदाइका क्रममा वाग्लेले प्रधानमन्त्री शाहलाई अध्ययनका लागि पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्री शाहले आगामी असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।
वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।प्रधानमन्त्रीको अनुपस्थितिसँगै उनले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी पनि वाग्लेलाई नै प्राप्त भएको छ।
यसअघि नै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री शाहले वाग्लेलाई तोकेका थिए।यससँगै प्रधानमन्त्री शाहको अमेरिका भ्रमण अवधिभर कार्यवाहक प्रधानमन्त्री वाग्लेले अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन्।