समयले जवानी लुटेपछि आयौ – नेता बाँस्कोटा
७ असोज काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि व्यङ्ग्य गर्दै पार्टीले समयमै आत्मसमीक्षा गर्न नसकेको टिप्पणी गरेका छन् ।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बाँस्कोटाले ओलीको प्रतिवेदनमा समेटिएका विषयमाथि टिप्पणी गर्ने क्रममा ‘रङ्गमञ्च उठेपछि आयो, समयले जवानी लुटेपछि आयौँ’ भन्ने गीतको प्रसङ्ग सुनाएका हुन् ।
उनले जेनजी आन्दोलनपछि मात्र नभई निर्वाचनअघि नै एमालेले आफ्ना कमजोरीको समीक्षा गर्दै जनतासँग माफी माग्ने विषयमा सोच्नुपर्ने बताएका थिए । तर अहिले आएर प्रतिवेदनमा त्यस्ता विषय समेटिनु ‘रङ्गमञ्च उठेपछि आयो’ जस्तै भएको उनको टिप्पणी थियो ।
‘तमाम नेता–कार्यकर्ता र जनताको इच्छा, आकांक्षा र भावना लुटिएपछि आएको प्रतिवेदनको मर्मको के अर्थ ?’ बाँस्कोटाले प्रश्न गरे ।
उनले पार्टीको कार्यशैली र संगठन सञ्चालनमा समयमै सुधार नगरे त्यसको गम्भीर राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए । ‘पार्टी यसरी नै अगाडि बढ्ने हो भने स्थानीय तहको निर्वाचनमा हामी सबै भष्म भएर खरानी हुने स्थिति आउँछ,’ उनले बैठकमा भने ।