अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई
२६ असोज काठमाडौं । सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई प्रदान गरिएको छ । स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सले सोमबार यसको घोषणा गरेको हो ।हल क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालय र वुडफोर्ड न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयसँग आबद्ध छन् । दुवै अर्थशास्त्रीलाई बृहत् अर्थतन्त्रको स्थिरता नीतिको सूक्ष्म अर्थशास्त्रीय आधारसम्बन्धी अनुसन्धानका लागि पुरस्कृत गरिएको हो ।
उनीहरूको अनुसन्धानले आर्थिक उछाल र मन्दीका बेला सरकार तथा केन्द्रीय बैंकलाई प्रभावकारी प्रतिक्रिया दिन सहयोग गर्ने अर्थशास्त्रीय मोडल विकास गर्न मार्गप्रशस्त गरेको बताइएको छ ।
उनीहरूले घरपरिवार र व्यवसायका निर्णयले समग्र अर्थतन्त्रमा पार्ने प्रभावलाई समेटेर अर्थशास्त्रीय मोडल विकास गरेका हुन् । यो दृष्टिकोण अर्थशास्त्री जोन मेनार्ड केन्सले झन्डै एक शताब्दीअघि विकास गरेका परम्परागत केन्सियन मोडलभन्दा फरक रहेको बताइएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सका अनुसार, केन्सियन मोडलको दशकौँसम्मको प्रयोगले बेरोजगारी नियन्त्रण गर्न नसक्ने र मुद्रास्फीति बढाउनेजस्ता सीमाहरू उजागर गरेको थियो ।
एकेडेमीले आफ्नो प्रेस विज्ञप्तिमा पश्चिमी विश्वले कम आर्थिक वृद्धि, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको एक दशक सामना गरेको उल्लेख गरेको छ । त्यतिबेला धेरैले स्थिरता नीतिले फाइदाभन्दा बढी हानि पुर्याएको र यसलाई हटाउनुपर्ने ठानेको एकेडेमीले जनाएको छ ।
पुरस्कार विजेताहरूको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक र सरकारले प्रयोग गर्ने अर्थशास्त्रीय मोडललाई बलियो सैद्धान्तिक आधार दिएको अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष जोन हासलरले बताएका छन् । उनका अनुसार, यसले ऊर्जा संकट वा घरायसी उपभोगमा आकस्मिक परिवर्तनजस्ता आर्थिक धक्कासँग जुध्न सरकार र केन्द्रीय बैंकलाई थप सक्षम बनाएको छ ।