बिर्तामोडबाट एक क्विन्टल सडेगलेको माछा र मासु बरामद


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २९ २०८३
285
SHARES

२९ आश्विन झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएको अवस्थामा माछा र मासु फेला पारेको हो । टोलीले ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

केही पसलमा प्यान नम्बरसमेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेको संग्रौलाले बताए । उनका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधि रोक्न बजार अनुगमन गरिएको हो । सुधारका लागि पटक-पटक आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

अनुगमन टोलीमा उपप्रमुख संग्रौलासहित पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराई, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी सहभागी थिए ।पशु सेवा कार्यालयका प्रमुख भट्टराईले विगतका वर्षको तुलनामा यसपटक पसलको सरसफाइमा केही सुधार देखिए पनि उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बिक्री गर्ने समस्या कायमै रहेको बताए ।

‘सरसफाइमा पहिलेको तुलनामा सुधार देखिए पनि केही पसलमा कुहिएका माछा र सडेको मासु बिक्रीका लागि राखिएको पाइयो,’ उनले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यस्ता व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासुको भण्डारण र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातको अवस्थासमेत जाँच गरिएको थियो ।

माछा तथा मासु छिटो बिग्रन सक्ने खाद्यवस्तु भएकाले उचित तापक्रममा भण्डारण र स्वच्छता कायम नगर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर र सरसफाइसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने र मापदण्डविपरीत कारोबार गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।