दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०८३
323
SHARES

२ असोज मुस्ताङ । यसपालीको दसैँको अवसरमा मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ ।कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष यो मूल्य बराबरका १३ हजार २ सय ७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो ।

उनले मुस्ताङबाट २२ करोड रुपैयाँभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट १३ करोड रुपैयाँ मूल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही बाटो हुँदै निकासी भएको जानकारी दिए ।

कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९ सय ६४ च्याङ्ग्रा र एक हजार २ सय ४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४ सय भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

यसैगरी डोल्पाबाट दुई हजार ६ सय ८० च्याङ्ग्रा र ८ सय ७१ भेडा, जुम्लाबाट ३ सय च्याङ्ग्रा र मुगुबाट ३ सय २० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ ।

कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र च्यालु (रमा–माउ)को १० हजार रुपैयाँ कायम गरी निकासी गरिएको हो ।