नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियान चलाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८३
513
SHARES

६ कार्तिक काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

भोलि कात्तिक ७ गतेदेखि सुरु हुने अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ । असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानको सुरुवातमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिने पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख छ । अभियानका क्रममा जनताका सरोकार र माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बन्धित तहबाट आवश्यक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्ता छन् अभियानका नौबुँदे कार्यक्रम
नेकपाले अभियानअन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गर्ने जनाएको छ ।

त्यसैगरी, देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, पत्रकार सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ ।

पार्टीका आधिकारिक धारणा, नीति तथा कार्यक्रम नियमित रूपमा सार्वजनिक गर्ने र महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अभियानमा समेटिएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित जनताको वास्तविक अवस्था सङ्कलन गरी उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पहल गरिने सर्कुलरमा उल्लेख छ ।

अभियानका क्रममा शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिलाई प्राथमिकता दिइनेछ । स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता तथा सम्बन्धित तहको निर्णयअनुसार कार्यक्रमलाई लचिलो ढङ्गले सञ्चालन गरिने पार्टीले जनाएको छ ।

यसका साथै अभियानका क्रममा जनसेवाका काम गर्नुका साथै नमुनायोग्य कार्यसमेत गरिने नेकपाको कार्यक्रम छ ।