नेकपा विघटनको समीक्षाबिना वाम एकता सम्भव छैन – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३
684
SHARES

१९ श्रावण काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन र विघटनको गहिरो समीक्षा नगरी वामपन्थी एकता गरिए त्यसले सार्थकता नपाउने टिप्पणी गरेका छन् । सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको बताए ।

कम्युनिस्ट दलहरूले नेताहरूका टाउका नभई कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्ने बताए ।”नेकपाको गठन र विघटन नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने एउटा महत्त्वपूर्ण परिघटना बन्यो,” पोखरेलले भने, “जसले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको छ । यसको समीक्षा नगरिकन फेरि नेताहरूका टाउका जोडेर वाम एकता र सफलता प्राप्त गरिन्छ भन्ने खालको मान्यता बनायौँ भने त्यसको कुनै सार्थकता हुँदैन ।”

नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरूबीचको झगडा भएको उनको भनाइ छ । नेताहरूबीचको सहमतिलाई मात्रै आधार बनाएर नभई कार्यकर्ताको भावना, नीति र साझा कार्ययोजनामा आधारित एकताले मात्रै आन्दोलनलाई पुनर्जीवित गर्नसक्ने बताए । “नेताहरूका टाउका होइन कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्दछ । त्यसले नै वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्दछ,” पोखरेलले भने, “किनकि आजको वामपन्थी आन्दोलन कमजोर हुनुका पछाडि नेताहरूका बीचको झगडाको हो ।”

अहिले लोकतान्त्रिक व्यवस्थाका लागि लडेका राजनीतिक दलहरूसँगै लोकतान्त्रिक व्यवस्था समेत संकटमा रहेको बताए । जेनजी आन्दोलनको सन्दर्भमा राजनीतिक दलहरूका सोचहरू विभाजित हुँदा मुलुक दुर्घटनाउन्मुख रहेको उनको भनाइ छ ।