मुलुक लफङ्गाहरूबाट शासित हुँदैछ भन्ने पुष्टि भयो – घनश्याम भूसाल
३१ साउन काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अब ‘लफङ्गा’हरूको हातमा पुगेको र पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि मुलुक ‘लफङ्गा’हरूको हातमा जान लागेको भनी गरेको टिप्पणी स्मरण गराए ।
‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ– मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफंगाहरूबाट शासित हुने भयो । त्यतिबेला मैले आफू गलत साबित हुन पाउँ पनि भनेको थिएँ,’ उनले भने, ‘तर, यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ, त्यसले समाजमा अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम बढाएको छ ।’ गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले भोगेको पराजय अनपेक्षित रहेको भन्दै कसरी हारियो भन्ने अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।
‘हामी यसरी हारेका छौँ कि कसरी हाऱ्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ नेता भूसालले भने, ‘हामीलाई यसबारे कसैले प्रश्न नगरिदिए हुन्थ्यो, घरमा श्रीमती र छोराछोरीले पनि नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ । यो त्यो तहको अनपेक्षित र कतिपय अवस्थामा व्याख्या नै गर्न नसकिने पराजय हो ।’ कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय यति अप्रत्याशित र व्याख्या गर्न कठिन रहेको उनले उल्लेख गरे ।
वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकट भोग्ने चेतावनी भूसालले दिए । उनले समग्र कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गरेर थप सशक्त रूपमा मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याएका छन् ।