सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
१ भाद्र काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभाका सदस्यको प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन्। उनले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन भनेका छन्।
‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।
सभामुख अर्यालले पहिलो पटक प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन्। विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर जवाफ दिनका लागि रुलिङ गर्न माग गर्दै आएका थिए। प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली २०७३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ।’
विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण माग गर्दै आएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर विपक्षी दलका सांसदले विरोध जनाउँदै आएका छन्। यसमा प्रधानमन्त्रीले संसद्मा आएर प्रस्ट पार्नुपर्ने उनीहरूको माग छ। त्यस्तै, प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। त्यसलाई लिएर पनि सांसदले प्रधानमन्त्रीको संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै आएका छन्।