झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड
१३ भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।शनिबार डल्लुस्थित खनालको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा गम्भीर छलफल भएको छ।
भेटमा नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था, पार्टीको संगठनात्मक तथा राजनीतिक अग्रगति, वामपन्थी शक्तिबीचको सहकार्य तथा एकतालाई थप मजबुत बनाउने विषयमा समेत विचार–विमर्श भएको थियो।
त्यस्तै, मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति, प्राकृतिक विपद्बाट उत्पन्न समस्या तथा विपद्का समयमा राज्य र पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको थियो।डल्लुस्थित खनाल निवासमा भएको भेटवार्ता करिब १ घण्टा ३० मिनेट चलेको थियो।