प्रधानमन्त्री शाह न्युयोर्क जाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३
1.1K
SHARES

१९ भदौ काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरू हुने तालिका छ।

प्रधानमन्त्री शाह उच्चस्तरीय बैठकमा सहभागी हुनगरी अमेरिका जाने टुंगो लागेको पराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो।

तर, १० भदौमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएपछि जलवायु न्यायको आवाज विश्व समुदायसम्म पुर्याउन प्रधानमन्त्री शाह आफैँ न्यूयोर्क जान लागेका हुन्।

महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता सम्बन्धि विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ।

प्रधानमन्त्री शाह न्युयोर्क जाने विषयमा  मन्त्रिपरिषद्को अर्को बैठकले आवश्यक निर्णय गर्नेछ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल सानो आकारको बनाउने तयारी सरकारले गरेको छ।

गत वर्ष चैतमा प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ।शाहलाई छिमेकी मित्रराष्ट्र भारत र चीनबाटसमेत औपचारिक भ्रमणको निमन्त्रणा आइसकेको छ। तर, भारत र चीन भ्रमणअघि शाह अमेरिका जान लागेका हुन्।