एनभिडियाले प्रधानमन्त्री राहत कोषमा १ करोड डलर जम्मा गराउन हिमालयन बैंकलाई सम्पर्क गर्‍यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३
1.3K
SHARES

१९ भदौ काठमाडौ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि सहयोग गर्ने १ करोड अमेरिकी डलर सहयोग पठाउने विषयमा हिमालयन बैंकसँग सम्पर्क गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड डलर (डेढ अर्ब रुपैयाँ) जम्मा गराउन हिमालयन बैंकलाई सम्पर्क गरेको जानकारी दिएका छन्।

‘यस्तो आपत् तथा आवश्यकताको समयमा गरिएको यस किसिमको सहयोगका लागि एनभिडियालाई हार्दिक आभार। उहाँहरूलाई जति धन्यवाद दिए पनि कमै हुन्छ’, राणाले एक्समा लेखेका छन्। यसका साथै म्यानमारको यूएबी बैंकले पनि ५ लाख डलर हिमालयन बैंकमार्फत नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी दिएका हुन्। यसलाई उनले ‘अभूतपूर्व सहयोग’ भनेका छन्। योसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्बभन्दा बढी रकम संकलन भइसकेको छ।