भदौ २३ र २४ गतेको घटना ‘कम्युनिष्ट विरोधी हावा ‘ थियो – नेता लेखनाथ न्यौपाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०८३
1.6K
SHARES

२३ भदौ काठमाडौ । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले भदौ २३ र २४ गते भएका घटनाहरू नियोजित रूपमा सिर्जना गरिएको ‘कम्युनिष्ट विरोधी हावा’ मात्र भएको दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै नेता न्यौपानेले यस्तो विचार व्यक्त गरेका हुन्। उनले पछिल्ला राजनीतिक घटनाक्रम र प्रदर्शनहरू कम्युनिष्ट आन्दोलन र यसका उपलब्धिहरूलाई कमजोर पार्ने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरे।

कार्यक्रममा बोल्दै न्यौपानेले भने, “२०८२ भदौ २३ र २४ गते जे-जस्ता घटनाहरू सतहमा ल्याइए, ती सबै कम्युनिष्टहरूविरुद्ध भ्रम छर्न र जनतामा निराशा पैदा गर्न चलाइएको हावा मात्र हुन्। यस प्रकारका घेराबन्दीबाट क्रान्तिकारी शक्तिहरू कत्ति पनि विचलित हुनु हुँदैन।”

जनयुद्धका प्रथम पोलिटब्युरो सदस्य शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलले २०५६ सालमा गोरखामा सहादत प्राप्त गरेको स्मरण गर्दै उनले शहीदहरूको बलिदानले नेपाली राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको चर्चा गरे। उनीहरूको सपना र आदर्शलाई आत्मसात गर्दै दक्षिणपन्थी एवं कम्युनिष्ट विरोधी शक्तिहरूसँग वैचारिक रूपमा लड्नुपर्नेमा उनले जोड दिए।

माओवादी केन्द्रका शीर्ष नेताहरू, कार्यकर्ता तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको उक्त स्मृति सभामा वक्ताहरूले शहीदहरूको योगदानको चर्चा गर्दै पार्टीभित्र वैचारिक स्पष्टता र एकताको आवश्यकता औंल्याएका थिए।