खर्ब क्षतिपूर्ति पाउनुपर्छ – सहसंयोजक नेपाल
४ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्याय र उचित क्षतिपूर्तिका लागि तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुपर्ने बताएका छन्।आइतबार काठमाडौंमा आयोजित विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले पुर्याएको योगदानको व्यापक प्रचारप्रसार गर्दै क्षतिपूर्तिका लागि बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
‘वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ’
नेपालले वन संरक्षण र विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनले यसलाई विश्वसामु बार्गेनिङ टुलका रूपमा पेस गर्नुपर्ने बताए।‘नेपालमा ३६ प्रतिशत मात्र रहेको जंगल अहिले ४६ प्रतिशत पुगेको छ। विभिन्न १३ वटा जिल्लामा रुख रोप्ने अभियान चलाएर अक्सिजन उत्सर्जनमा ठूलो योगदान दिएका छौँ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘त्यसबापत कति पैसा पाउने भनेर दाबी गरिएको अवस्था पनि छ। विश्वले दिन्छु पनि भनेको छ। तर, अब अर्बले मात्र पुग्दैन, खर्बमा पुग्नुपर्ने हुन्छ।’ नेपालले पाउनुपर्ने हकअधिकारका लागि विज्ञहरूको अध्ययनमा टेकेर अन्तर्राष्ट्रिय समुदायलाई प्रभावमा पार्नुपर्ने उनले औँल्याए।
ओबामालाई दिएको कालो ढुंगाको स्मरण
कार्यक्रममा उनले आफू प्रधानमन्त्री रहेका बेला जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउन गरेका पहलहरूसमेत स्मरण गरे। हिमाली क्षेत्रमा परेको गम्भीर असर देखाउने प्रतीकका रूपमा आफूले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कालो ढुंगा उपहार दिएको प्रसंग उनले सुनाएका थिए।
साथै, जलवायु परिवर्तनकै कारण नेपालमा बाढीपहिरोका घटना बढेको र पानीका स्रोतहरू सुक्दै गएको भन्दै उनले आन्तरिक तयारीमा पनि जोड दिए। जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन र सुरक्षित बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।