वित्तीय अपराध नियन्त्रणमा अन्तरनिकाय समन्वय आवश्यक – गभर्नर पौडेल
५ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय अपराध नियन्त्रणका निम्ति नियामक, अनुसन्धान र अभियोजनसँग सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र सहजीकरण आवश्यक रहेको बताएका छन् । आइतबार (असोज ४) काठमाडौंमा आयोजित ‘अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले वित्तीय सुशासन राष्ट्र बैंकसहित सबै निकायको साझा सरोकारको विषय भएको बताए ।
राज्यशक्तिमाथिको पहुँच अन्ततः मुलुकभित्रका स्रोत–साधनमाथिको नियन्त्रण र स्वामित्वसँग जोडिने उनले उल्लेख गरे । गलत व्यक्ति वा संस्थाको हातमा स्रोत पुग्न नदिन राज्यका निकाय सजग बन्नुपर्नेमा उनले जोड दिए । यसनिम्ति ‘सिंगो सरकारी संयन्त्रको दृष्टिकोण’ अवलम्बन गरी साझा दिशा निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले प्रचलित कानुनमा देखिएका समस्या र सुधारका विषयमा मन्त्रालयस्तरबाट अध्ययन तथा संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए । वित्तीय अपराधविरुद्धको प्रयासमा महान्यायाधिवक्ताको कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराध नियन्त्रण सबै निकायको संयुक्त प्रयासबाट मात्र सम्भव हुने बताए । पछिल्ला वर्षमा वित्तीय अपराधको संख्या र जटिलता दुवै बढ्दै गएको उनले सुनाए । उनले वित्तीय अपराध अनुसन्धानलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।